वडातहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर हुँदै

जीवनका उर्वर समयलाई समुदायको राम्रो स्वास्थ्यका निम्ति खर्चिनुहुने महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्व बुझ्नका लागि आजभन्दा तीन दशक अगाडि फर्कनु पर्छ । २०४५ साल, जुन वर्षबाट नेपालको स्वास्थ्यक्षेत्रमा आमूल सुधार आउन थाल्यो र हरेक स्वास्थ्यकर्मीले सम्झने वर्ष पनि हो । सोही वर्षबाट मुलुकमा सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले यतिखेर नेपाललाई विश्वसामु स्वास्थ्यका विभिन्न सूचकहरु प्राप्तिमा उल्लेखनीय सफलता प्राप्त गरेको मुलुकको लहरमा उभ्याएको छ । अन्तर्राष्ट्रियदेखि राष्ट्रियस्तरबाट समेत महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय भूमिकाका कारण नेपालमा विद्यमान मातृ मृत्युदर उल्लेख्य रुपमा घटेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंकलगायतले नेपालमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनमा अतुलनीय योगदान गर्नेहरुको श्रेणीमा यीनै स्वयंसेविकाहरुलाई सम्झने गरेका छन् । जुन कुराको दृष्टान्त करीब १२ वर्ष अघि नेपालका भ्रमणमा आएका नर्वेका राजकुमार एवं यूएनडिपीका सद्भावना राजदूत हाकोन मग्नुसले सहस्राब्दी विकास लक्ष अन्तर्गतको शिशु तथा मातृ मृत्युदरलाई कम गरेर नेपालले नमूना देखाएको बताउँदै महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको तारिफ गर्नु भएको थियो । त्यतिखेर काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रममा राजकुमारले भनेका थिए, ‘पूर्वाधारको कमी भएका मुलुकहरुमा शिशु तथा मातृ मृत्युदर कम गर्न अझै कठिन छ । नेपालमा भने महिला स्वास्थ्य स्वंयसेविकाहरुले यसमा ठूलो मद्दत गरेको पाएँ,’ उहाँले भन्नु भएको थियो ।

संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविका रणनीति–२०६७(पहिलो संशोधन २०७६) अनुसार स्वयंसेविकाहरुलाई प्रोत्साहन दिँदै आएको छ । यही रणनीतिमा रहेर अधिकांश गाउँ/नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका कोष स्थापना गरी उनीरुलाई सेवाभावमा उत्प्रेरित गराउँदै आएको छ । उहाँहरुले परिवार नियोजन, सुरक्षित मातृत्व, नवशिशु स्याहार, खोप कार्यक्रम, पोषण कार्यक्रम, सरुवा तथा महामारी रोगहरु, श्वास प्रश्वास रोग तथा झाडापखाला रोकथाम तथा नियन्त्रण, वातावरणीय सरसफाई, स्वास्थ्य शिक्षा तथा अन्य राष्ट्रिय कार्यक्रमहरुमा सहयोगीको भूमिकासमेत निर्वाह गर्दै आउनु भएको छ । गाउँका सामान्य लेखपढ गर्न जान्ने र सधैंजसो घरधन्दामा व्यस्त हुनुपर्ने महिलाहरूलाई दिइएको यो कामको सूची हेर्दा एउटा ठूलै स्वास्थ्यकर्मीलाई भन्दा कम भने नभएको देखिन्छ । अन्तर्राष्ट्रियदेखि राष्ट्रियस्तरबाट तय गरिएका स्वास्थ्य कार्यक्रमहरू’bout प्रचार प्रसार र कार्यान्वयनमा समेत उहाँहरू हरदम सक्रिय हुने गरेको पाइन्छ ।

सहस्राब्दी विकास लक्ष प्राप्तिमा उल्लेख्य योगदान गर्नु भएका र दीगो विकास लक्ष प्राप्तिमा दिनरात नभनि खटिनु भएका यीनै महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानमा नेपाल सरकारले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ मै यो दिवस मनाएर उहाँहरुलाई थप हौसला प्रदान गरेको पाइन्छ । यही दिवसका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहहरुले कार्यक्रमहरु आयोजना गरेको समाचार छ । यीमध्ये पनौती र नमोबुद्ध नगरपालिकाले उल्लेखनीय कार्यक्रमहरुसहित दिवस मनाएको समाचार छ ।

पनौती नगरपालिकाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसर पारेर ६० वर्षे उमेर हदका कारण विदाई लिनु भएका, उत्कृष्ट कार्य गर्नु भएका र नवप्रवेशी गरी नगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमिल्सनाका अनुसार उमेर हदका कारण स्वयंसेविकाको काम छाड्नु भएकाहरुलाई नेपाल सरकारले प्रदान गर्ने २० हजार रुपैंयामा नगरपालिकाले ३० हजार रुपैंया थप गरेर प्रदान गरेको छ । यसैगरी नगर स्वयंसेविका कोषबाट १ हजार १ सय रुपैंया, छाता, ब्याग, सम्मानपत्र र उपहारसहित उहाँहरुलाई सम्मानजनक विदाई गरिएको हो ।

यसरी विदाई हुनुहुने स्वयंसेविकाहरु १८ जना रहनु भएकोमा अधिकांशले २०४५ सालदेखि नै नगरपालिकाका हरेक वडा तहमा स्वास्थ्य सेवा पुर्‍याउँदै आइरहनु भएको थियो । यस वर्ष साविक बल्थलीबाट एक, टौखालबाट दुई, मल्पीबाट एक, खोपासीबाट दुई, पनौतीबाट पाँच र एक जनाको निधन, कुशादेवीबाट दुई, सुन्थानबाट दुई र सुब्बागाउँबाट दुई जना १८ जनाले सम्मानजनक विदाई लिनु भएको हो । उहाँहरुमध्ये अधिकांश साक्षर र २०४५ सालदेखि सेवा सुरु गर्दै २०४५, २०५०, २०५२, २०५५ र २०६६ मा आधारभूत तालिम लिनु भएका स्वयंसेविकाहरु हुनुहुन्थ्यो । यस्तै, असामयिक निधन हुनुभएकी स्वयंसेविका सुभद्रा जङ्गमका पति शिवप्रसाद जङ्गमलाई ३० हजार रुपैंया प्रदान गरिएको छ ।

दिवसकै अवसरमा उमेर हदले विदाई लिनु भएका स्वयंसेविकाहरुले गर्दै आउनु भएका काम गर्नका लागि उहाँहरुको वडामा रहेको आमा समूहले छनौट र नियुक्ती गरेका १८ जना नवप्रवेशी स्वयंसेविकाहरुलाई पनि स्वागत गर्दै नगर स्वास्थ्य सेवा प्रदानको क्षेत्रमा समाहित गराइएको छ । यसैगरी, नगरपालिकामा गत वर्षभरि अब्बल र उत्कृष्ट सेवा गर्ने १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही ३ हजार रुपैंया नगद प्रदान गरिएको छ । यतिखेर पनौती नगरपालिकामा १ सय २० जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहनु भएको छ । महिला स्वास्थ्य स्वयंसेविका भएपछि उहाँहरुको पहिचान बदलिएको छ, कसैको श्रीमती र बुहारी भनेर चिनिने उहाँहरु महिला स्वास्थ्य स्वयंसेविका भनेर चिनिन थाल्नु भएको छ ।

‘स्वस्थ जिवनशैली हाम्रो आवश्यकता: संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने मुल नारा सहित आइतबार पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सरकारमातहतको स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तमराज सेढाइँ, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद वाग्ले, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, विभिन्न वडाका वडाअध्यक्षहरु, शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैगरी नमोबुद्ध नगरपालिकाले पनि १८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजारसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वडा नं ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नं. ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहनु भएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उहाँहरुलाई सम्मानपत्र र नगद प्रदान गर्नु भएको थियो । दिवसकै अवसरमा नमोबुद्ध नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा पुरानागाउँ स्वास्थ्यचौकीअन्तर्गतका स्वयंसेविकाको समूह पहिलो, भिडाबारी आधारभुत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको समूह दोस्रो र कुरुगाउँ आधारभुत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको टोली तेस्रो भए भने दाप्चा स्वास्थ्य चौकीअन्तर्गतका स्वयंसेविकाको समूहले सान्त्वना पुरस्कार पाएको छ ।

पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिएको थियो । प्रतियोगितामा १२ वटा समूह सहभागी थियो । नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्यं स्वयंसेविका रहेका छन् । उनीहरुले अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा ५ हजार ३ सय १७ जनालाई सेवा दिएका छन् । कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको सम्मान गर्दै आएको र आगामी दिनमा पनि थप सेवा सुविधासहित उहाँहरुको कामको मुल्यांकन गरिने बताउनु भयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वास्थ्यमा संकट आउँदा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण बन्ने गरेको चर्चा गर्दै भन्नुभयो, ‘सामुदायिक स्वास्थ्य कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन तथा चेतनाको विकास गर्न मद्दत पुगेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुकै कारण बाल तथा मातृ मृत्युदर घटाउन सहयोग पुगेको हो’, पौडेलले थप्नु भयो । कार्यक्रममा नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, नगरपालिका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, स्वास्थ्य शाखामा कार्यरत सरस्वती शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमअघि महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुका टोलीले चेतनामुलक प्लेकार्डसहित नगर परिक्रमा गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।