काभ्रेपलाञ्चोक खोपासी निवासी लघु कथाकार तथा मुक्तककार राजन सिलवालको कृति ‘बाको कोट’ लघुकथा पुस्तकको शनिबार केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा भव्य कार्यक्रमका बिच लोकार्पण भएको छ ।
‘बाको कोट’ लघु कथा कृतिलाई कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा नेपाल सरकारका सचिव श्यामकुमार भट्टराई, वरिष्ठ साहित्यकार महेश प्रसाईँ, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. भरतकुमार भट्टराई, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ, कवि देवु लुइँटेल, कृतिकार राजन सिलवाल र लघुकथाभित्रका पात्रहरूको प्रतिनिधि पात्र देवेन्द्रलाल कारञ्जितले संयुक्त रूपमा लोकार्पण गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले कृतिकार सिलवालको मुक्तक र लघुकथाको नियमित पाठक र मुक्तक लाइभको स्रोतासमेत रहेको प्रसङ्ग उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘लघुकथा सङ्ग्रहभित्रका कैयन् कथाहरु आफ्नै कथा हुन् कि झैँ लाग्छन् । एउटा जागिरेले जागिरमा रहुञ्जेल विरलै मात्र स्वतन्त्रता अनुभूति गरेर लेख्न सक्छ । कृतिकारले जागिरबाट निवृत्त भइसकेपछि निर्भीक भएर लेखिएका कथाहरु पनि पढ्न उत्सुक रहेको छु’, उहाँले सुझाउनु भयो ।

कार्यक्रममा प्राध्यापक भरतकुमार भट्टराईले सिलवालको लघु कथाकारितामाथि टिप्पणी गर्दै भन्नुभयो, ‘सिलवालका लघुकथाहरू उनका मुक्तकहरू जत्तिकै सशक्त र विविध विषयलाई तीक्ष्णतापूर्वक अभिव्यक्त गर्दै पाठकहरूको मन मस्तिष्कमा छाप छोड्न सफल रहेका छन् । आफ्नो चेलो आफूभन्दा मेधावी र श्रेष्ठ भएकोमा गौरव लाग्छ किनकी सिलवाल अध्ययनका लागि चेलो भए पनि मुक्तक र लघुकथामा आफूले पनि गुरु सम्झेको छु’, उहाँले थप्नु भयो । सिलवालका लघुकथाहरू माथि कसैले विद्यावारिधि गर्न सक्ने भट्टराईको भनाई रहेको छ ।
अतिथि महेश प्रसाईंले सिलवालका लघुकथाहरू पछिल्लो समयमा समकालीन लघुकथाको एउटा धार र प्रवाहका रूपमा अगाडि आएको विचार राख्नुभयो । उहाँले थप्नुभयो, ‘ती भाव, शैली, विचार, भाषाआदिको दृष्टिले अत्यन्त शक्तिशाली रहेका छन् । भविष्यमा आमाको आँचल वा आमाको सारी विषयको कृति पढ्न पाइयोस् भन्ने कामना गर्छु । कमै स्रष्टाहरूले यति सशक्त लघुकथा लेख्न सकेका छन्’, कृतिकारको तारिफमा प्रसाईंले भन्नुभयो ।

कार्यक्रमका अर्का अतिथि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले लेखकसँगको २५ वर्ष लामो सङ्गत र सहकार्यको स्मरण गर्दै विभागको हलमा यसप्रकारको कार्यक्रम प्रथम पटक गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै कृतिकारको काम, क्षमता र लेखनीबाट आफू मुग्ध रहेको बताउनु भयो ।
लघुकथा सङ्ग्रहभित्रका पात्रहरूमध्येबाट मञ्चमा आमन्त्रित पात्र देवेन्द्रलाल कारञ्जितले आफू लिखित एउटा लघुकथा वाचन गर्न भ्याउनु हुँदै आफ्ना मित्र लघु कथाकार सिलवाललाई लोकार्पित कृतिका लागि बधाई दिनु भयो ।

लेखकका सहकर्मी रामहरि गैह्रेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा लेखककी पत्नी एवं लघुकथाकी प्रकाशक नीता सिलवालले लेखकसँगको २४ वर्ष लामो दाम्पत्य जीवनका रोचक प्रसङ्गहरूको स्मरण गर्दै लेखकको पत्नी हुन पाउँदा गर्व लागेको अनुभूति व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘लेखकलाई लघु कथा पुस्तकमार्फत पाठकहरुसँग जोड्न पाउँदा खुसी लागेको छ’, नीताले थप्नु भयो ।
कार्यक्रममा कृतिकार सिलवालले सहभागीको अनुरोधमा आफ्ना ७ हजारभन्दा बढी मुक्तक रचनामध्ये सर्वप्रिय मुक्तक वाचनसहित लघुकथा कृतिबाट सैंतिस नम्बरको जुत्ता शीर्षकको कथा वाचन गर्नुभयो । विश्व नेपाली साहित्य सञ्जालको लघुकथा प्रशिक्षकसमेत रहनु भएका सिलवालको यस अघि मुक्तक कृति दुइ हजार सोह्र पाइला प्रकाशन भइसकेको छ ।

कार्यक्रममा सभाध्यक्ष कवि देवु लुईँटेलले राजन सिलवालको व्यक्तित्व, कलम एवम् शब्दको सामथ्र्यबाट आफू प्रभावित रहेको र सङ्ग्रहका कथाहरू हरेक दृष्टिबाट पठनीय रहेको बताउनु भयो भने साहित्यकार ओम रिजाल र कार्यक्रम सञ्चालिका कवि एलिना दुलालले एक एक वटा लघु कथा वाचन गर्नु भयो । लघु कथा कृतिको मूल्य ३ सय ८० रुपैंया रहेको छ ।