गम्भीर सडक दुर्घटना, रुख, टावरजस्ता उचाइबाट खसेको, भीरपहराबाट लडेका र साहसिक खेलका दुर्घटनाका बिरामीको अवस्था ख्याल नगरी जस्तो अवस्थामा उद्धार गरियो, सोही स्थितिमा एम्बुलेन्स वा अन्य ढुवानी सेवामा उठाएर अस्पतालसम्म पुर्याउँदा स्पाइनलमा थप चोट लाग्ने सम्भावना बढी हुने गरेको छ ।
बनेपा–१३, भैंसेपाटीस्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा पुनर्स्थापना सेवा लिइरहेका बिरामीहरुमा यसको दृष्टान्त पाइन्छ । त्यही भएर नै पछिल्लो समय स्पाइनल इन्जुरीका विशेषज्ञ चिकित्सकहरु र पुनस्र्थापनामा संलग्न विज्ञहरुले दुर्घटना र चोटपटकपछिको उद्धार कार्यमा स्पाइनल कर्डलाई थप क्षति हुन नदिई अस्पतालसम्म पुर्याउनका लागि जनचेतना जगाइरहेका छन् ।
हुन पनि ट्रेकिङका क्रममा भीरबाट खसेर स्पाइनल इन्जुरी भएका वरिष्ठ पत्रकार कनकमणि दीक्षित, उहाँका परिवार र साथीसँगीले २१ वर्ष अघि स्थापना गरेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले हालसम्म करीब ४ हजार बिरामीलाई सेवा दिएको छ । भैंसेपाटीमा २५ शैय्याबाट सेवा प्रारम्भ गरिएकोमा अहिले ५१ शैय्यासम्म पुर्याइएको र अब एक सय पुर्याउने तयारीमा रहेको केन्द्रले जनाएको छ । यसले पनि केन्द्रमा आउने बिरामीको संख्यालाई इँगित गर्दछ ।
हालसम्म पाइएका अध्ययनहरुले स्पाइन इन्जुरीका बिरामीहरु अधिकांश ग्रामीण परिवेशका र निम्न आय भएका पाइएको छ । उपचारको लागि अस्पतालमा भर्ना र सक्रिय जीवनमा फर्किनको लागि पुनर्स्थापनाको आवश्यकता पर्ने हुँदा समग्र उपचार महँगो बनाउनेमात्रै नभई धेरै बिरामीहरुले पुनर्स्थापनाको अवसर समेत पाउन नसकेको अवस्था छ ।
सामाजिक चेतनाको कमीले गर्दा स्पाइनल इन्जुरी भएर चोटपटक लागेका व्यक्तिहरुलाई विकलाङ्ग ठानी नेपाली समाजले अर्कै नजरले हेर्न गरेको अनुभव न्युरोलजीमा मास्टर्स इन् फिजियोथेरापी गर्नु भएका विज्ञ विवेक घिमिरे ‘विशद’ को रहेको छ ।
उहाँ भन्नुहुन्छ, ‘स्पाइनल चोटका कारण शारीरिक रूपमा असक्षम भएका बिरामीहरुलाई भिन्न तरिकाले सक्षम बनाउनु नै पुनर्स्थापना विधि हो । जुन विधिबाट बिरामीलाई आफ्नो सरसफाईदेखि लिएर सबै कुरामा आत्मनिर्भरतामा पुर्याउन सकिन्छ ।’
स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले पनि पुनर्स्थापना भएका बिरामीहरुलाई घर फर्कँदा आयआर्जनमा समेत सक्रिय बनाउन केन्द्रमै रहेको व्यावसायिक तालिम केन्द्र (भोइसेस )बाट बिरामीको अवस्था र रुची अनुसारका सीपमूलक तालिम दिएर पठाउने गरेको पाइन्छ ।
स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले यत्ति धेरै किसिमले स्पाइनलका बिरामीहरुलाई मद्दत गर्दै आएको भए पनि बिरामीलाई घर फर्काउने बेलामा त्यहाँको व्यवस्थापनलाई एउटै चिन्ताले पिरोल्छ, त्यो भनेकै ‘स्पाइनल बिरामीमैत्री ह्वीलचेयर’ ।
हुन त केन्द्रलाई विभिन्न समयमा विभिन्न दाताहरुले ह्वीलचेयर नदिएका होइनन्, तर ती ह्वीलचेयरको प्रयोगले स्पाइनल चोट भएका बिरामीहरुको ‘मोबिलिटी’ (गतिशीलता) का लागि पटक्कै मद्दत हुँदैन । स्पाइनल इन्जुरी भएका बिरामीलाई त झन विशिष्टीकृत ह्वीलचेयर चाहिने हुन्छ । यसबाट पनि दैनिकी र गतिशीलताका लागि स्पाइनल बिरामीमैत्री ह्वीलचेयरको महत्त्व प्रष्ट हुन्छ ।
स्पाइनल इन्जुरी सङ्घका उपाध्यक्ष डा. अनिलबहादुर श्रेष्ठका अनुसार मेरुदण्डमा चोट लागेका (स्पाइनल कर्ड इन्जुरी) का बिरामीले उपचारपश्चात पुनर्स्थापनाका क्रममा उपयुक्त खालको र त्यसपछिका समयमा लामो समय टिक्ने र राम्रो खाले ह्वीलचेयर पाउनु पर्ने हुन्छ । संघले सञ्चालन गरेको केन्द्रबाट पुनर्स्थापना भइ घर फर्कने क्रममा बिरामीलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको कम्तीमा ३ सय वटा ह्वील चेयर वार्षिक रुपमा आवश्यक भए पनि सबैमा पुर्याउन नसकिएको अवस्था विद्यमान रहेको उहाँको भनाई छ ।
केन्द्रकी कार्यकारी निर्देशक इशा थापा ढुङ्गाना भन्नुहुन्छ, ‘बिरामीलाई आवश्यक भए अनुसारको मापदण्डयुक्त ह्वीलचेयर नहुँदासम्म उपचारको खास प्रक्रिया सुरु गर्न कठिनाई हुन्छ । केन्द्रले गुणस्तरीय पुनर्स्थापना सेवा दिएपनि तोकिएअनुसारको ह्वीलचेयर दिन सकेनौं भने त्यो बिरामीले घरमा गएर गर्ने के ? बाँच्ने आधार नै हुँदैन । त्यसैले पनि स्पाइनल बिरामीमैत्री ह्वीलचेयर दिन सकेको खण्डमा मात्रै बिरामीको शतप्रतिशत मोबिलिटी (गतिशीलता) हुन्छ । हामीले ह्वीलयचेयर मात्रै दिएर भएन उहाँहरुको घरसम्म पुगेर उहाँहरुको घरको ढोका, शौचालय र भान्छा कोठा ह्वीलचेयर जाने छ कि छैन भनेर हेर्ने समेत गरेका छौँ र ती संरचनालाई बदल्नका लागि परिवारलाई उत्प्रेरित गर्दै आएका छौं’ उहाँले थप्नु भयो ।
यसै सन्दर्भमा, ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पारेर केन्द्रलाई स्पाइनल बिरामीमैत्री ह्वीलचेयर हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ काठमाडौं वेस्टको आयोजनामा स्पाइनल बिरामीका लागि उपयुक्त हुने ह्वीलचेयरहरु हस्तान्तरण गरिएको हो ।
फ्रान्सस्थित रोटरी क्लब अफ क्विम्पर–ओडे र अमेरिकास्थित मोमेन्टम ह्वील्स् फर ह्युमानिटी डिबिए क्लास्पको मुख्य सहकार्यमा स्पाइनल बिरामीमैत्री र कच्ची सडकमा गुडाउन मिल्ने (रफ राइडर) १ सय १५ थान र ७ वटा स्पोर्ट्स ह्वीलचेयर उपलब्ध गराएको हो । यी ह्वीलचेयरहरु नेपाली बजारमा किन्न नपाइने भएकाले निर्मातासँगै मगाइएको हो ।
यी कार्यका लागि रोटरी क्लब अफ जावलाखेलका पूर्व अध्यक्ष डा. सुवास प्याकुरेलले फ्रान्सको क्लब तथा अमेरिकाको संस्था र काठमाडौं वेस्टवीच सम्पर्क सूत्र स्थापना गरिदिनु भएको हो । क्विम्पर–ओडे क्लबसँग फ्रान्स, स्वीटजरल्याण्ड, अमेरिका र पोर्चुगल गरी १४ वटा रोटरी क्लबहरुले सहकार्य गरेका हुन् ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट–३२९२ का डिष्ट्रिक्ट गभर्नर रोटरियन राजेन्द्रप्रसाद ध्वजूले रोटरीकै सक्रियता र सहयोगमा निर्माण भइरहेको उदयकुमार–चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्र अन्तिम चरणमा पुगेको बताउनु भयो ।
स्पाइनल बिरामीका लागि वर्षेनी ३ सयको हाराहारीमा विशिष्ट खालको ह्वीलचेयर आवश्यक पर्ने बुझिएको हुँदा डिष्ट्रिक्ट, क्लबहरु र ग्लोबल ग्रान्टमार्फत सहयोग गर्ने ध्वजूले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट–३२९२ का डिष्ट्रिक्ट सेक्रेटरी डा. दिनेश मानन्धरलगायत काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा रहेका विभिन्न रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो । सो अवसरमा स्पाइनल इन्जुरी सङ्घकी अध्यक्ष डा. शान्ता दीक्षितले रोटरी क्लब र रोटरियनहरुले स्पाइनल बिरामीहरुका लागि अमूल्य सहयोग गरेको बताउनु भयो । -बेथानचाेक साप्ताहिकबाट