टेलिकम बनेपाको ‘फाइबर टु दी होम–एफटिटिएच’ सेवामा छलाङ,मध्यपहाडका ५ जिल्लामा सेवा बिस्तार, काभ्रेपलाञ्चोकमा क्षेत्र बढ्दै

कुनै जमाना थियो, नेपाल टेलिकमको तारमा आधारित फोन (पिएसटिएन)सेवा लिनका लागि लरतरो चालले सकिँदैन थियो । केही गरी लिन सकिइ हालेमा पनि सीमित क्षेत्रसम्म पुगेका केबुलहरुबाट धेरै किलोमीटर लामो ‘ड्रप वायर’ बिजुलीका पोल या रुखमा बाँध्दै घरसम्म लैजानु पर्ने अवस्था थियो ।

तत्कालीन समयमा खोपासीदेखि इँटेसम्म करीब १० किलोमीटर ड्रप वायर तानेर टेलिफोन सेवा उपयोग गर्नु भएका डिभाइनलाइट स्कूलका प्रिन्सिपल गोपालबहादुर कार्कीलाई यतिखेर नेपाल टेलिकमले ल्याएको ‘फाइबर टु दी होम–एफटिटिएच’ ले खुशी तुल्याएको छ । घर–घरसम्मै नयाँ प्रविधिमा आधारित ‘ट्रिपल प्ले सर्भिस’ जसमा टेलिफोन, डेटा र आइपी टिभीको सेवा पाउँदा खुशी लागेको उहाँको भनाई छ ।

पछिल्लो प्रविधिका रुपमा टेलिफोन एक्सचेन्जदेखि घरसम्मै फाइबर अप्टिकलमार्फत सेवा पुर्याउन थालिएको छ । नेपाल टेलिकम बनेपाले काभ्रेपलाञ्चोकका धेरै क्षेत्रहरुमा ‘पिएसटिएन’मा आधारित दूरसञ्चार सेवालाई ‘एफटिटिएच’मा रुपान्तरण गरेको अवसरलाई मंगलबारबाट औपचारिकता दिएको हो ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको दाहालटार, शंखुस्थित नयाँ घरको प्राङ्गणमा आयोजित विशेष समारोहमार्फत टेलिकम बनेपाले काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा ‘फाइबर टु दी होम–एफटिटिएच’ सेवा उपयोग भइरहेको औपचारिक घोषणा गरिएको हो ।

नेपाल टेलिकम बनेपाले मंसिर २८ गतेसम्ममा यी जिल्लाहरुमा ११ हजार वटा सिपिई (कस्टमर प्रेमिसेस इक्वीपमेन्ट) जडान गरिसकेको छ । हुनतः कोभिड–१९ संक्रमणकाललगत्तै बनेपासहितका केही क्षेत्रहरुमा अनौपचारिक रुपमा एफटिटिएच सेवा सुरु भइरहेको थियो ।

टेलिकम बनेपाका प्रमुख(उप–प्रबन्धक) जगदीश लेखकका अनुसार हालसम्म बनेपा, धुलिखेल, पनौती, भकुण्डेवेंशी र पाँचखालका पिएसटिएन एक्सचेन्जहरु बन्द भई यतिखेर साविकका टेलिफोन लाइनहरु ‘फाइबर टु दी होम–एफटिटिएच’ मा रुपान्तरित(माइग्रेसन) भइसकेका छन् । नयाँ जडान गर्ने क्रम पनि बढ्दो छ ।

साविकमा फोन जडान गरिरहेका ग्राहकहरुलाई ‘फाइबर टु दी होम–एफटिटिएच’ को सेवा लिँदा मा एक महिना ५० एमबिपिएसको इन्टरनेट निःशुल्क दिइएको उहाँको भनाई छ । यस्तै, एफटिटिएच पुगेका बागमती प्रदेशका १५ वटा सामुदायिक विद्यालयहरुलाई एक वर्ष अवधिको निःशुल्क इन्टरनेट सेवा टेलिकमको सामाजिक उत्तरदायित्त्वअन्तर्गत प्रदान गर्न लागिएको छ ।

नेपाल टेलिकम बनेपाले मंसिर २८ गतेसम्ममा काभ्रेपलाञ्चोकमा भ्वाइस ४४९६/डेटा ४५५५, सिन्धुपाल्चोकमा भ्वाइस ९३४/डेटा ११४४, दोलखामा भ्वाइस ७७९/डेटा १४७०, रामेछापमा ९३० भ्वाइस/ डेटा ८२१ र सिन्धुलीमा भ्वाइस ८४४/८४३ डेटा उपलब्ध गराएको बनेपाले जानकारी दिएको छ । कार्यालयले यसै अवसरमा शंखुमा ५ सय वटा सीम निःशुल्क वितरण गरिरहेको छ ।

एफटिटिएचको आउटसाइड फाइबर नेटवर्क बिस्तारमा सहायक प्राविधिक अधिकृत भोलानाथ सापकोटाको टीम र इन्टरनेट/टिभी सपोर्टका लागि सहायक प्राविधिक अधिकृत टंक मानन्धरको टीमको मेहनतले बागमती प्रादेशिक कार्यालयमध्ये बनेपाले थोरै समयमा धेरै उत्कृष्ट काम गर्न सकेको भन्दै उप-प्रबन्धक लेखकले प्रशंसा गर्नु भयो ।

हाल चालु रहेका ढुंखर्क, बल्थली, दाप्चा, तिनपिप्ले, दोलालघाट र कुन्तावेंशीका लागि एफटिटिएच नेटवर्कका सामानहरु प्राप्त भइसकेको र निकट भविष्य ती स्थानमा समेत एफटिटिएच बिस्तार हुने उहाँको भनाई छ ।

सबै ग्राहकहरुले घर–घरसम्मै नयाँ प्रविधिमा आधारित नेपाल टेलिकमको गुणस्तरिय र भरपर्दो ‘ट्रिपल प्ले सर्भिस’ जसमा टेलिफोन, डेटा र आइपी टिभीको सेवा पाउनुहोस भन्ने हाम्रो टेलिकमले लक्ष्य लिएको बताइएको छ ।

अहिले मर्मत र सम्भार एवं प्राविधिक समस्या समाधानका लागि बिहान ७ देखि ७ बजेसम्म १९८ मा कल गर्न सकिने भएकाले र आउटसाइड नेटवर्कमा बिदामासमेत काम गर्ने प्रणाली भएकाले गुनासो हटेको लेखकको अनुभव रहेको छ ।

नेपाल टेलिकम, बागमती प्रादेशिक कार्यालयकी निर्देशक रिना डंगोलका अध्यक्षताको सो कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नेपाल सरकारको सूचना प्रविधि नीति कार्यान्वन गर्ने एक अभिन्न अङ्ग भएकाले नेपाल टेलिकमले राष्ट्र निर्माणमा उल्लेख्य योगदान दिँदै आएको दाबी गर्नुभयो ।

दस वर्षअघि ‘हात–हातमा मोबाइल’ नारा लिएको टेलिकमले यतिखेर ‘हरेक नेपालीको घर–घरमा हाई ब्याण्डवीथको इन्टरनेट’ पुर्याउने योजना अनुसार काम गरिरहेको अर्यालले उल्लेख गर्नु भयो ।

यतिखेर टेलिकमको एफटिटिएचको सेवा ३ लाख घर–घरमा पुगिसकेको र १५ लाखभन्दा बढी घर–घरमा यो सेवा पुर्याउने पूर्वाधार र सामग्रीहरु तयार रहेको बताउँदै अर्यालले थप्नुभयो, ‘हामीलाई अरुले पछि पार्यो भन्ने गरिन्छ । तर नेटवर्क बिस्तारको हाम्रो आफ्नै स्टाण्डर्ड भएकाले त्यो प्राप्ति नभई सेवा बिस्तार नगरेका हौं । अब हामी द्रूत गतिमा नेटवर्क बिस्तारमा लागेका छौं । सेवा प्रदानका क्रममा गुणस्तरलगायत अन्य कुराहरुमा कमीकमजोरी भएमा हामीहरुलाई ग्राहक महानुभावहरुले सुझाव दिनु भएमा हामी सुधार्दै गुणस्तरीय सेवा प्रदानमा तत्पर छौं’, अर्यालले थप्नु भयो ।

टेलिकमले एफटिटिएच सेवा बिस्तारका लागि आक्रामक रणनीति ल्याएर काम गरिरहेको भए पनि अहिले सूर्यविनायक–धुलिखेल सडक ब्सितारका क्रममा समन्वयको अभावमा पटक–पटक मेन फाइबर कनेक्सन काटिने गरेकाले ग्राहकहरुले असुविधा भोगिरहनु पर्ने अवस्था चित्रण गर्दै उप–प्रबन्धक लेखकले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भयो ।

सो अवसरमा धुलिखेल–१२ का वडाध्यक्ष मोहनप्रसाद लामिछाने, पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका धुलिखेल–१२ सभापति माधव श्रेष्ठले विगत र हालको अवस्था दाँज्दै टेलिकमको सेवा र गुणस्तरमा सुधार आएको र नयाँ नयाँ सेवाहरु थपिएको चर्चा गर्नु भएको थियो । पलाञ्चाेक साप्ताहिकबाट

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।