मलखाद र बालीचक्र नमिल्दा पनौतीको खेतीयोग्य माटो बिग्रँदै

नगदे बाली आलु, तरकारी र धानका लागि उर्वर मानिएको पनौती नगरक्षेत्रमा पछिल्ला वर्षहरुमा उत्पादकत्वमा ह्रास आउन थालेपछि नगर प्रमुख भीम न्यौपाने र कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटालाई एउटै चिन्ताले सताउन थाल्यो–खेतीयोग्य जमीनबाट विगतझैं उत्पादकत्व कसरी बढाउने? यही विमर्शका लागि केही महिना पहिले प्रदेश कृषि मन्त्रालयमा तत्कालीन मन्त्री चन्द्र लामालाई भेट्न पुग्नु भएका न्यौपाने र सापकोटाले हेटौंडास्थित माटो परीक्षण प्रयोगशालाका प्रमुख डा. जनार्दन खड्कासँग पनि भेट गर्नुभयो । मातृ जिल्ला रहेको र केही अवधि कृषि ज्ञान केन्द्रमा कार्यरत रहँदा धुलिखेलमै माटो प्रयोगशालासमेत स्थापना गराउनु भएका र माटोकै विज्ञ उहाँले सुझाउनु भयो, ‘अब पनौतीको माटो जाँच गरेर परिणामका आधारमा माटो सुधारका उपाय नल्याएसम्म उत्पादकत्व बढ्दैन । यसका लागि हाम्रो प्रयोगशाला पनौतीमा आएर अभियानकै रुपमा माटो परीक्षण गरिदिनु तयार छ’, खड्काले थप्नुभयो । मेयर न्यौपाने र शाखा प्रमुख सापकोटाले खोजेको जस्तै उपाय लिएर फर्कनु भयो ।

मंसिर १६ गतेदेखि भगवानडाँडास्थित नगरपालिका परिसरमै मोबाइल माटो जाँच प्रयोगशाला आइपुग्यो । १२ वटै वडाहरुमा माटोको नमूना संकलन भए तापनि विशेषगरि वडा नम्बर ४, ८, ९ र १० का व्यावसायिक तरकारी खेती भएका क्षेत्रबाट किसानहरुले बढी मात्रामा नमूना संकलन गरेर ल्याउनु भयो । कूल ४ सय ३ वटा माटोका नमूनाहरु मोबाइल प्रयोगशालामा रहेर डा. खड्का स्वंय र उहाँसहित ७ जनाको टीमले लगातार ३ दिनसम्म परीक्षण गर्ने काम भयो । संकलित नमूना विश्लेषण गर्न उपकरणहरु जडित घुम्ती प्रयोगशालाबाट माटोको पीएच, प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फोरस र पोटासको परीक्षण गरिएको थियो ।

परीक्षणको नतिजा अनुसार ९३ प्रतिशत नमूनामा अम्लीय समस्या देखियो भने ६० प्रतिशत माटोमा प्रांगारिक पदार्थ र ४८ प्रतिशत माटोमा नाईट्रोजनको कमि देखियो । फस्फोरस र पोटास ठूलो समस्याको रुपमा नदेखिए पनि पनौतीक्षेत्रको माटोलाई मलखादको उचित प्रयोग नहुनु र बालीचक्र नमिलेकै कारण माटोको स्वास्थ्य राम्रो देखिएन । सो अवसरमा माटो सुधार्न र राम्रो स्वास्थ्यका लागि किसानहरुलाई परामर्श दिइयो । यस्तै परीक्षणबाट कृषि चून प्रयोग गर्न सिफारिश भएका किसानहरुलाई नि:शुल्क कृषि चून वितरण गरिएको थियो । यस कार्यमा नगरपालिकाले १० मेट्रिक टन र माटो प्रयोगशालाले १० मेट्रिक टन गरी २० मेट्रिक टन कृषि चून वितरण गरियो ।

विश्व माटो दिवस(डिसेम्बर ५)का दिन नगरपालिकामा माटो जाँच शिविर समापन र कृषि चून वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा नगर प्रमुख भिम न्यौपानेले नगरक्षेत्रको माटोको स्वास्थ्य अवस्था परीक्षणबाट थाहा भएकाले समस्या सामाधान गर्नका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने र कृषकहरुले पनि माटो विज्ञले दिएको परामर्श अनुसार काम गर्न पनि सुझाउनु भयो ।

कृषि ज्ञान केन्द्र काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले कृषिको मुटु नै माटो भएकाले यसको संरक्षणमा कृषक चनाखो नभए र माटोलाई जिवित राख्न नसके मानव जिवनमा ठुलो असर पार्ने चेतावनी दिनु भयो ।

पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले माटो अनुसारको बाली लगाउन सकिएमा तथा समयमा नै माटोलाई विग्रनबाट बचाउन सकेमा मात्रै कृषकको जीवनस्तर माथी उठाउन सकिनेमा जोड दिनुभयो ।

नगरपालिका कृषि तथा पशु विकास समितिका संयोजक एवं वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले टोल–टोलमा माटो परिक्षणको व्यवस्था मिलाउनुपर्नेमा सधैं जोड दिएको जानकारी दिनुहुँदै आफूहरु जनप्रतिनिधि निर्वाचित भएर आएपछि कृषकलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनु भयो ।

कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटाले कृषकहरुसँग साझेदारीमा कार्यक्रम गर्न र मागमा आधारित कार्यक्रम गर्नका लागि शाखाले सधैं अनुरोध गरेको बताउनुहुँदै अनुदानका कार्यक्रमहरुको प्रभावकारिताका लागि समेत माटो जाँच शिविर आयोजना गरिएको जानकारी दिनु भयो । सो अवसरमा जनप्रतिनिधिहरु, कृषकहरु र सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । (कृषि तथा पशुपंछी शाखाका प्राविधिक अधिकृत लिलानाथ सापकोटाको कुराकानीमा आधारित समाचार)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।