बुडोल सामुदायिकको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

मुलुककै प्रतिष्ठित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (बुसा), बनेपाले विभिन्न समयमा सामुदायिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरुको आयोजना गर्दै सदस्य तथा समुदायको मन जित्दै आइरहेको छ । यस पटक भने सो सहकारीले धुलिखेल–१, देवीटारका स्थानीयवासीलाई लक्षित गर्दै नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको समाचार छ ।

धुलिखेल वडा नं १ को कार्यालयको सहजीकरण एवं बनेपा हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा देवीटार स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा ९८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सो क्रममा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं सामान्य चिकित्सकहरुले स्वास्थ्य जाँच तथा परामर्श प्रदान गर्नु भएको थियो ।

परीक्षणका क्रममा औषधी सेवन गर्नु पर्ने देखिएका बिरामीहरुका लागि नि:शुल्क औषधि समेत वितरण गरिएको थियो । थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई बनेपा हेल्थ केयरमा स्वास्थ्य परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको बुसाले जनाएको छ ।

वडा नं १ का वडाअध्यक्ष रमेश घोरासैनी, देवीटार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं बुसाका प्रतिनिधिहरुले स्वास्थ्य शिविरमा सहजीकरण गर्नु भएको थियो ।

यस्तै, बुसाले हालैमात्र २७ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बनेपा सेवाकेन्द्रमा आयोजित कार्यक्रममा २९ जना दाताहरुले रक्तदान गर्नुभएको बताइएको छ । संस्थाले हरेक ३–३ महिनामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । रगतको अभाव भएको अवस्थामा संस्थाले दातासँग समन्वय गरी रगत उपलब्ध गराउँदै आएको जनाएको छ ।

 

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।