शहरी गृहिणीहरुलक्षित गरी बनेपा नगरपालिकाले ६ दिन अवधिको बेकरी तालिम सञ्चालन गरेको छ ।
नगरपालिकाको सहयोग र बनेपा वडा नं ८ को कार्यालयको आयोजनामा नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालटी म्यानेजमेन्ट (नाचम) मा आयोजित सो बेकरी तालिम मंगलबार सम्पन्न भएको छ । शहरी गृहिणीहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकको दाबी रहेको छ ।
बनेपा वडा नं ८ का ३२ जना गृहिणीहरु सहभागी रहेको तालिममा नाचमकी बेक सेफ सपना वैद्यले तालिम अवधिभरमा बेकरीका विभिन्न आइटमहरु बनाउने’boutमा प्रशिक्षण दिनु भएको थियो ।
समापनका अवसरमा सहभागीहरुले नै बेकिङअन्तर्गत बन, बर्गर, डोनट, पिज्जा, बर्थडे केक, कुकिज, स्लाइस केक, कप केक, सिनामन रोल, मफिनलगायतका बेकरी आइटमहरु तयार गर्नु भएको थियो ।
समापन समारोहका प्रमुख अतिथि, विशेष अतिथिलगायतका अतिथि महानुभावहरुलाई यीनै बेकरी आइटमहरु उपहारसमेत दिएर पठाउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेले महिलाहरुलाई सीपमूलक तालिमअन्तर्गत बेकरी तालिम अत्यन्तै प्रभावकारी रहेको कुरा तालिमको अन्तिम उत्पादन भएका बेकरी आइटमहरु देखेर र चाखेर प्रमाणित भएको उल्लेख गर्नुभयो ।
विशेष अतिथि उपप्रमुख रेखा सापकोटा दाहालले आफू निर्वाचित भए आएपछि बनेपा नगरमा महिलालक्षित धेरै कार्यक्रमहरु सञ्चालन भएको दाबी गर्नुभयो ।
तालिमको वडा नं ८ का अध्यक्ष दानबहादुर श्रेष्ठले शुभारम्भ गर्नुहुँदै महिलाहरुबाट धेरै माग भइ आएको बेकरी तालिमलाई बनेपाकै प्रतिष्ठित एकेडेमी नाचममा सम्पन्न गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले तालिमका सहभागी महिलाहरुले तालिम अवधिभर राम्रोसँग सिकेको र तालिमपछि स्वरोजगार बन्नका लागि प्रस्तावहरु राखेको जानकारी दिनु भयो । तालिम पाएका महिलाहरुलाई उद्यमी बनाउनेतर्फ ध्यान गएको मानन्धरको भनाई थियो ।
नाचमका अध्यक्ष रमेश श्रेष्ठले पछिल्लो समय ‘होम बेकरी’ को प्रचलन फस्टाउँदै गएको र साना–साना व्यवसायका रुपमा घरमै पनि गर्न सकिने भएकाले यसमा आकर्षण बढेको बताउनु भयो । नाचमले विद्यार्थीहरुका अलावा गृहिणीहरु लक्षित गर्दै छोटो अवधिका बेकरी, बारिष्टालगायतका तालिमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बनेपामै उच्चस्तरको तालिम र विकासको माध्यमबाट हस्पिटालिटी र कुलिनरी आट्र्सका लागि नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालटी म्यानेजमेन्ट (नाचम) को हो । यसले युरोस्किल र लिंकन युनिभर्सिटी कलेजसँग सम्बद्धता मार्फत कुलिनरी र होटल व्यवस्थापनमा व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ । हामीले सामाजिक संघ संस्थाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं भनेर स्थानीय सरकारसँग मिलेर लक्षित समुदायलाई तालिम पनि प्रदान गर्दै आएका छौं । बेकरी तालिम पनि बनेपासँग मिलेर आयोजना गरेको एक उदाहरण हो’, श्रेष्ठले थप्नु भयो ।
वडा नं ८ की महिला सदस्य रामप्यारी पोटे अवालेको संयोजकत्वमा सम्पन्न तालिममा नाचमको बेकरी सेफ सपना वैद्यले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षक वैद्यका अनुसार सहभागीहरुले ६ दिनको छोटो अवधिमा समेत निक्कै राम्रोसँग बेकरी आइटमहरु बनाउन सिकेकोमा प्रसन्नता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाको महिला विकास शाखा प्रमुख विजया सुवेदी, पनौती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मधुसुधन गुरागाईं, काभ्रे बहिरा स्कूलकी प्रिन्सिपल कृष्णप्यारी नकर्मीलगायतका महानुभावहरुले शहरी गृहिणीहरुलाई आयआर्जनका लागि यस्ता तालिमहरु उपयोगी हुने विचार व्यक्त गर्नु भएको थियो ।