स्थापनकालमा केन्द्रीय कार्यालय तथा अधिकांश स्कूलहरु धुलिखेल र बखुण्डोलमा केन्द्रित गर्दै आएको काठमाडौं विश्वविद्यालय(काविवि)ले पछिल्लो समय सुरु गरेका कोर्सहरुको पठनपाठनका लागि काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरका स्थानीय तहहरुमा पुगेको छ ।
ललितपुरको बालकुमारीस्थित स्कूल अफ म्यानेजमेन्ट, हात्तीबनस्थित स्कूल अफ आर्ट्स र एजुेकशन, काठमाडौंको त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर परिसरमा संगीत स्कूल र ज्ञानेश्वरस्थित स्व. बालकृष्ण समको भवनमा नयाँ विषय पठनपाठन ।
यस्तै, पाँचखाल नगरपालिकामा स्कूल अफ साइन्सअन्तर्गत कृषि विज्ञान र इन्जिनियरिङअन्र्तगत आर्टिफिसियल इन्टिलिजेन्स । पनौती–५ मा स्कूल अफ मेडिकल साइन्सेज, हेल्थ इन्फर्मेटिक्स र योगिक एण्ड वेल बिइङ् साइन्स । पनौती–१० खोपासीमा सिभिल इन्जिनियरिङ(हाइड्रोपावर) । यसबाट पनि काविविले आफूले सञ्चालन गर्ने अधिकांश कोर्सहरुलाई भुगोल सुहाउँदो क्षेत्रहरुमा बिस्तार र स्थापना गर्ने क्रममा रहेको प्रष्ट हुन्छ ।
यसै क्रममा काविविले स्कूल अफ इन्जिनियरिङअन्तर्गत डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङले हाल बखुण्डोलमा सञ्चालन भइरहेको ब्याचलर अफ आर्किटेक्चरको पठनपाठन पनौतीमा गर्ने भएको छ । पाँच वर्ष अवधिको हुने यो कोर्समा ४ महिनाको इन्टर्नशिप पनि समावेश छ ।
नेपाल इन्जिनियरिङ् परिषद्बाट स्वीकृत र लोक सेवा आयोगले तोके अनुसारको पाठ्यक्रममा पढाइ हुने यस कोर्सका लागि ९ लाख ७० हजार रुपैंया (शैक्षिक वर्ष ०७९/८०) शुल्क लाग्नेछ । यी निकायले तोकेको अलावा काविविले माउन्टेन आर्किटेक्चरका रुपमा यो कोर्समा पर्वतीय पर्यावरणलाई ध्यानमा राखेर हरित र दीगो भवन डिजाइन, भूदृश्य र ग्रामीण वास्तुकलाका आयामहरुको पठनपाठनमा जोड दिनेछ ।
मध्यकालीन वास्तुकलाले भरिपूर्ण पनौती शहरले विश्व सम्पदा सूचीमा सूचीकरणका लागि करीब २ दशकदेखि प्रस्तावित रहेको छ । यसका लागि आवश्यक पर्ने दस्तावेजहरु विभिन्न संघसंस्थाले तयार पारेको भएपनि व्यवस्थापकीय योजनाहरुका साथै सम्पदाहरुको अभिलेखीकरण हुन नसकेको अवस्थामा काविवि यो सहयोग पनि गर्ने उद्देश्यले पनौतीमा आउन लागेको हो ।

यसै क्रममा सोमबार काविवि र पनौती नगरपालिका बीच पनौती–७ स्थित इन्द्रेश्वर प्राथमिक विद्यालयको खाली भवन र त्यसले चर्चेको कित्ता नम्वर ८० को जमीनको उपयोग गर्दै काविवले ब्याचलर अफ आर्किटेक्चर (बीआर्क) सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतामा काविविका प्राडा भोला थापा र पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले हस्ताक्षर गर्नु भएको छ ।
पनौती नगरमा काविविमा सञ्चालनमा रहेको स्कूल अफ लका लागि निवर्तमान नगर प्रमुख भीम न्यौपानेकै कार्यकालमा २०७८ असोजमा जग्गा प्राप्तिलगायतका प्रक्रियाहरु अघि बढेको थियो । सो प्रक्रिया मन्त्रालयस्तरमा पुगेर अड्केको अवस्था रहेको छ । यसै अवस्थालाई ध्यानमा राखेर नगर प्रमुख भण्डारीले काविविको सम्बन्ध सुमधुर राख्दै अझ मजबूत बनाउनका लागि खाली रहेको विद्यालय भवन र जग्गामा बीआर्क पठनपाठनका लागि मार्ग प्रशस्त गरिदिनु भएको हो ।
सम्झौतासँगै लामो समयदेखि बन्द रहेर झरपात उम्रेर जीर्ण रहेको स्थान र भवनको मर्मत सम्भार तथा विकासमा काविवले लाखौं रुपैंया खर्चनु पर्ने भएको छ । यसका लागि काविविले कार्यकारी परिषद्बाट स्वीकृति र योजनासमेत बनाइसकेको बताइएको छ ।
सम्झौतामा भौतिक संरचनाको जीर्णोद्धार विश्वविद्यालयले गर्ने, नयाँ संरचना थप, पानी, बिजुली लगायतका अन्य खर्चहरु विश्वविद्यालयले गर्ने, पनौती वडा नम्वर ७ अन्तर्गत रहेका प्राचीन संम्पदाहरुको संरक्षण गर्ने सिलसिलामा विभिन्न नक्साङ्कन सम्बन्धी कार्य विश्वविद्यालयले निःशुल्क गरिदिने, आर्किटेक्चर विषय पढ्न योग्यता पुगेर काठमाडौ विश्वविद्यालयले लिएको प्रवेश परिक्षामा उत्तिर्ण भएका आवेदक मध्ये जिहन्दार र आर्थिक अवस्था कमजोर भएका वडा नम्वर ७ मा स्थायी बसोबास भएका एकजना विद्यार्थीलाई ७ नं वडाको सिफारिशमा ५० प्रतिशत र अन्य वडामध्येबाट एक जनालाई ५० प्रतिशत शुल्कमा अध्ययन गराउने उल्लेख छ । त्यस्तै इन्द्रेश्वर उमावी पनौतीमा भईरहेको विज्ञान विषयको पढाईमा विश्वविद्यालयले आवश्यक सहयोग गर्नेलगायतका शर्तहरु उल्लेख छ ।
काविवले बीआर्कका लागि भवन र जग्गाको व्यवस्थापनका लागि थालेको प्रयासले करीब ९ महिना अवधिको विभिन्न छलफलहरु र पत्राचारहरुपछि मूर्त रुप ग्रहण गर्न पुगेको छ । कावविले पनौतीले उपलब्ध गराउने भनिएको जग्गाको प्रक्रिया मन्त्रालयस्तरमा पुगेर काम रोकिएको र नयाँ विद्यार्थीहरु भर्ना भइसकेको अवस्था भएकाले तत्कालका लागि बीआर्क कक्षा सञ्चालनका लागि इन्द्रेश्वर प्रावि भवन र चर्चेको जग्गा उपलब्ध गराइदिन २०७९ साल चैत्र १३ गते पनौती नगरपालिकालाई पत्र लेखि सोको वोधार्थ पनौती वडा नं ७ को कार्यालयलाई समेत दिएको थियो ।
वडा समितिको पूर्ण बैठकले माग भइ आएको भवन र जग्गा बीआर्क कक्षा सञ्चालनका लागि मनासिव देखिएको निर्णयसहित २०८० वैशाख ४ गते नगरपालिकालाई सिफारिश दिएको आधारमा नगर कार्यपालिकाको जेठ ७ गतेको बैठकले काविविलाई सम्पूर्ण व्यवस्थापकीय कार्य सम्बन्धित विश्वविद्यालयले नै गर्ने गरी सम्बन्धित वडाको सहमतिमा १५ वर्षका लागि निःशुल्क रुपमा कक्षा सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

सम्झौतामा हस्ताक्षर समारोहमा पनौतीकी उपप्रमुख गीता बञ्जारा, वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकार, वडा सदस्यहरु सरु देउला, तारनी दुवाल, रामसुन्दर भुजू र श्यामकुमार बस्नेत तथा वडा सचिव रोशनराज श्रेष्ठको सहभागिता थियो ।
यसैगरी, काविविका तर्फबाट स्कूल अफ इन्जिनियरिङका डीन प्राडा मनीष पोखरेल, स्कूल अफ साइन्सका डीन प्राडा जनार्दन लामिछाने, स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा मनोज हुमागाईं र मेकानिकल डिपार्टमेन्टका प्राडा बिबेक बरालको सहभागिता थियो ।
यस्तै, सिभिल/आर्किटेक्ट इन्जिनियरिङका विभागीय प्रमुख सहप्राध्यापक डा. श्यामसुन्दर खड्का, वित्त विभाग प्रमुख कुमार बराल, सहप्राध्यापक आर्किटेक्ट बिन्दु श्रेष्ठ, सामुदायिक सम्बन्ध बिस्तार महाशाखा प्रमुख किशोर खनाल, आर्किटेक्ट इन्जिनियरिङ कार्यक्रम संयोजक विश्वदेव भट्टराई, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागका असिस्टेन्ट प्रोफेसर डा. अनुप थापा, सुरक्षा महाशाखा प्रमुख कर्नेल (अप्रा)शिवप्रताप कार्की, काविवि अल्मुनाईका सदस्य ई. सितु सैंजुलगायतका शिक्षाप्रेमी महानुभावहरुको उल्लेख्य सहभागिता थियो ।

काविविले पनौती शहरभित्रै बीआर्कको पढाइ सुरु गर्ने भएपछि पुरानो बजारक्षेत्र एवं आसपासमा चहलपहल बढ्ने र प्रचारप्रसारसहित आर्थिक गतिविधिहरुमा तीव्रता आउने पनौतीका स्थानीयवासीले अपेक्षा गरेका छन् । यस्तै, पनौतीमा सम्पदा संरक्षणमा लागीरहेका संरक्षणका अभियन्ताहरु पनि खुशी भएका छन् ।
स्थानीयवासी ई. सितु सैंजुले सोसल मिडियामा लेख्नु भएको छ, ‘जसरी मेडिकल कलेजले स्थानीय तहमा स्वास्थ्यको पहुँच पुर्याउँछ, त्यसै गरि स्थानीय तहमा अध्यापन हुने आर्किटेक्चरजस्ता कार्यक्रमले हाम्रो प्राचीन कला र संस्कृतिको पहिचान, संरक्षण र प्रचारमा ठूलो भुमिका खेल्नेछ । यो सहकार्यले पुरानो भवनको उपयोगिताभन्दा धेरै माथि एकातर्फ पनौतीको प्राचीन कला, संस्कृतिले प्राज्ञिक संरक्षक पाउने छ भने अर्कोतर्फ विश्व सम्पदा सूचीको यात्रा तय गर्न अग्रसर पनौतीले एक कुशल शैक्षिक सङ्गती ।’ ( पलाञ्चाेक साप्ताहिकबाट )