भिजिट नेपाल २०२० को सन्दर्भमा गण्डकी प्रदेशको पर्यटकीय क्षत्रको अवलोकनार्थ प्रदेश ३ सरकारलाई निमन्त्रणा दिइएको छ।
आज आईबार प्रदेश ३ सरकारलाई गण्डकी प्रदेश सरकारले घुम्न आउन निमन्त्रणा गरेको हो। गण्डकी पर्यटन वर्ष २०१९–२२ अभियान अन्तर्गत प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले घुम्नको लागि निमन्त्रणा गरेका हुन्। गण्डकी पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत मन्त्री लम्सालको नेतृत्वमा हेटौंडा आइपुगेको टोलीले मुख्मन्त्रीसहित प्रदेश ३ का जनतालाई पोखरासँगै गण्डकी प्रदेश घुम्नको लागि आग्रह गरे।
मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले समृद्धिको आधारमा पर्यटनलाई पहिलो नम्वरमा राखेर अघि बढेको बताए। नेपालीले नेपाललाई चिन्नुपर्छ भनेर गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षको रुपमा २०१९ लाई र २०१९ देखि २०२२ सम्म त्रिवर्षको रूपमा मनाउने तयारी रहेको बताए।
उनले गण्डकी प्रदेशले आगामी ५ वर्ष भित्र पर्यटनमार्फत धेरै प्रगति गर्ने अपेक्षा राखेको बताए। ‘गण्डकी प्रदेशले आगामी ३ वर्ष भित्र मात्रै १५ लाख पर्यटक भित्र्याउने अपेक्षा राखेका छौं’ मन्त्री लम्सालले भने।
गण्डकी प्रदेशका तीन सय वटा होमस्टे र पोखराका ६ सय होटल आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण वर्षको अवसरमा विषेश छुटको लागि सम्बन्धित निकायहरुसँग सम्झौता गरिएको उनले बताए।
गण्डकी प्रदेशको निमन्त्रणा स्वीकार्दे प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा प्रदेश ३ को सकारात्मक साथ रहने बताए। उनले गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभियानमा आफू स्वयम् सहभागी भएर र प्रदेशका अन्य व्यक्तित्वहरुलाई सहभागी गराएर सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।