रयाले निवासी साहित्यकार प्रदीप सापकोटाको पहिलो नियात्रा कृति ‘यात्राका इन्द्रेणी रङ्ग’ को लोकार्पण भएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकारद्धय मोहन दुवाल र श्रीओम श्रेष्ठले संयुक्त रुपमा नियात्रा सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
नियात्रा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिको क्षेत्रमा समेत काम सुरु गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नगरले यी क्षेत्रहरुमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार उत्पादन गर्ने जिल्लाको रुपमा परिचित बनेको बनाउनुभयो । उहाँले काभ्रे साहित्यकार, कवि, गायक जन्माउने जिल्ला रहेको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सापकोटाले पहिलो कृतिको रुपमा नियात्रा सङ्ग्रह ल्याएपनि त्यसमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरु रहेको बताउनुभयो ।